अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाही मृत फेलापरेको प्रकरणमा मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
मेयर आफैँ प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । उनीविरुद्ध दुई दिनको म्याद लिइएको छ । मेयर चलाउनेसहित शाही मृत्युको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या ७ पुगेको छ । कक्षा–१० मा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ का शाही गएको जेठ २१ गते बिहान मृतावस्थामा फेला परेका थिए । आफन्तले उनको हत्या भएको दाबी गर्दै आएका छन् ।
३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।