नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२६.३४ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत बिहीबार एक अमेरिकी डलरको विनिमय दर १२५.७२ रुपैयाँ पुगेको थियो ।
त्यसपछिका केही दिन डलरको भाउ केही सुस्ताएको थियो । मंगलबारदेखि भने पुनः बढ्न थालेको थियो । सोही क्रममा बुधबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको हो ।
दुई साताअघि एक अमेरिकी डलरको विनिमय दर १२५.१६ रुपैयाँ थियो । त्यसपछिका ५ दिन १२५.२२ रुपैयाँ कायम रह्यो । गत मंगलबार केही घटेर १२५.०७ रुपैयाँ कायम भएको विनिमय दर गत बुधबार फेरि उकालो लाग्दै १२५.२२ रुपैयाँमा पुगेको थियो । गत वर्षको असार मसान्तको तुलनामा वैशाखसम्म अमेरिकी डलरसँग रुपैयाँ ३.७१ प्रतिशतले कमजोर (अवमूल्यन) रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
मंगलबार साँझ ८ बजेसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७९.०३४ पुगेको छ, जुन ६ तारिखमा यस्तो विनिमय दर भारु ७८.०६ थियो । त्यसयता भारतमा पनि निरन्तर जसो भारु कमजोर बन्दै गएको छ । सोही क्रममा मंगलबार हालसम्मकै उच्च बनेको हो । विश्वबजारमै अमेरिकी डलरको माग बढेकाले भाउ पनि बढेको बताइएको छ ।