पालिकाहरू यतिबेला २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट ल्याउने तयारीमा जुटेका छन् । असार १० गते सम्ममा बजेट ल्याउन पर्ने संवैधानिक व्यवस्था अनुसार पालिकाहरु बजेटको तयारीमा जुटेका हुन् ।
कतिपय पालिकाहरूले नीति तथा कार्यक्रम पास गरिसकेका छन्, केहीले प्रस्तुत गरेर छलफलमा जुटेका छन् भने केही पालिकाहरू नीति तथा कार्यक्रम ल्याउन नै सकिरहेका छैनन् । केही पालिकाहरूमा नीति तथा कार्यक्रम र बजेटको विषयमा जनप्रतिनिधिहरू बिच विवाद भएको समाचार पनि आइरहेको छ ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिहरूले बजेट ल्याउँदा जनतासँग छलफल गरेर जनताको माग र आवश्यक्तलाई प्रथामिक्तामा पर्ने गरि बजेट ल्याउने प्रतिबद्धता गरे पनि अहिले समय अभावको बहाना देखाउँदै जनताको सुझाव विना नै बजेट ल्याइँदैछ ।
तीन उपमहानगरले मात्रै ल्याए नीति तथा कार्यक्रम, १० गते नै ल्याउने अन्यको तयारी
देशभर रहेका ११ वटा उपमहानगरपालिका मध्ये तीन उपमहानगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथामिक्तामा राखेर ल्याइएको नीति तथा कार्यक्रममा छलफल भइरहेको उपप्रमुख कन्दकला कुमारी रानाले जानकारी दिइन् । उनले १० गते बजेट ल्याउने तयारी भैरहेको पनि बताएकी छिन् ।
यता तुलसीपुर उपमहानगरपालिकामा पनि नीति तथा कार्यक्रम प्रस्तुत भैसकेको छ । त्यहाँ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले जानकारी दिए । ‘हामीले नीति तथा कार्यक्रम ल्याएर छलफलमा केन्द्रित भएका छौं । साथिहरुले अझै राम्रा प्रस्ताव ल्याउनुभयो भने संसोधन सहित पास गछौं’, उनले भने । ‘हामी १० गते बजेट ल्याएर पास गर्ने तयारीमा जुटेका छौं ।’ २०७९/०८० को बजेटमा आयआर्जन, व्यरोजगारीको समस्या समाधान, कृषि, शिक्षा, स्वास्थ्य र प्रविधिमन्त्री उपमहानगरपालिका बनाउनमा बजेट बढि केन्द्रित भएको प्रमुख खड्काले बताए । त्यसैगरी बजेटमा गरिबी निवारण गर्ने जस्ता क्षेत्रलाई पनि बजेटमा समेट्ने उनले बताए ।
घोराही उपमहानगरपालिकाले पाँच गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेर छ गते सर्वसहमतीमा पास गरिसकेको छ । वडा नम्बर १ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका राममणी पाण्डेले नीति तथा कार्यक्रममा आयआर्जन, शिक्षा, स्वास्थ्य र पुर्वधार विकासलाई जोड दिइएको बताए । १० गते बजेट ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट दुबै १० गते नै ल्याउने तयारी गरेको छ । हेटौंडामा नेकपा एमालेका जनप्रतिनिधिहरुले अवरोध गर्दै आएका छन् । अवरोधकै कारण नीति तथा कार्यक्रम ल्याउन ढिलो भएको हेटौंडाले १० गते नै दुबै काम सकाउने उममेयर राजेश बानियाले जानकारी दिए । उनले भने, ‘अहिले पनि हामी छलफलमा नै छौं । १० गते नै नीति तथा कार्यक्रम आउँछ र सर्वसहमतीमा बजेट पास हुन्छ ।’ खेलकुद, कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासलाई बढि प्राथामिक्तामा राखेर बजेट ल्याउने तयारी भइरहेको पनि उनले बताए ।
पूर्वको धरान उपमहानगरपालिकाले पनि नीति तथा कार्यक्रम र बजेट दुबै असार १० मा नै ल्याउने गरि तयारी गरिरहेको छ । त्यहाँ आज ८ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि केहि विषयमा हिजो ७ गते सहमती जुट्न नसकेकोले १० गते नै ल्याउनेगरी छलफल भैरहेको उपमेयर अइन्द्रविक्रम बेधाले जानकारी दिए ।
त्यसैगरी बुटवल उपमहानगरपालिकामा आज ८ गते नीति तथा कार्यक्रम ल्याउन लागिएको छ । आज नीति तथा कार्यक्रम प्रस्तुत गरेर भोली छलफल गरेर १० गते बजेट ल्याउने तयारी भइरहेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए ।
कलैया उपमहानगरपालिका र जतिपुर सिमरा उपमहानगरपालिकाले पनि १० गते नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरि तयारी भैरहेको उपमहानगर प्रमुखहरुले अनलाइनपानालाई बताए । यता जनकपुरधाम उपमहानगरले पनि १० गते नै नीति तथा कार्यक्रम ल्याउने गरि तयारी भइहरको उपमहानगर प्रमुख मनोजकुमार साह सुडीले जानकारी दिए । नीति तथा कार्यक्रममा शिक्षा, कृषि, स्वास्थ्य र फोहोर व्यवस्थापनलाई विशेष जोड दिइएको उनले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकामा भने ९ गते नीति तथा कार्यक्रम ल्यानेगरि छलफल भैरहेको उपमहानगरनगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र संपदाहरुको संरक्षणलाई मुख्य प्राथमिक्ता दिएर बजेट ल्याउने तयारी भइरहेको उनले बताए ।
त्यसैगरी इटहरी उपमहानगरपालिकामा पनि १० गते नै नीति तथा कार्यक्रम ल्याउने गरि तयारी भैरहेको उपमहानगरका उपप्रमुख संगीताकुमारी चौधरीले जानकारी दिइन् । शिक्षा, स्वास्थ्य र कृषिलाई नै प्राथमिक्ता दिएर नीति तथा कार्यक्रम ल्याइने उनले बताइन् ।