
विवाहको उमेर २० वर्षबाट घटाउने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको प्रस्तावमा सांसदहरुले असहमति जनाएका छन् । आइतबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा अधिकांश सांसदहरुले यथावत उमेर घटाउन नमिल्ने बताएका हुन् ।
एमाले सांसद् विमला विश्वकर्माले अपराधलाई कानुनी मान्यता दिनेतर्फ सरकार अग्रसर रहेको आरोप लगाइन् । १७/१८ वर्षको उमेरमा बच्चा जन्माउन नसकेर किशोरीहरुले ज्यान गुमउनु परेको भन्दै कानुन मन्त्रीले संसद् वा कुनै समितिमा छलफल नै नगरी एकैचोटी रोस्टममा बसेर उमेर घटाउने विषयमा अध्ययन गराएको छु भन्ने कुरामा आफ्नो आपत्ति भएको बताइन् ।
धेरैजसो महिला सांसदहरुले छोरीहरुलाई बिहे गरेपछि पढ्न समस्या हुने बताएका छन् । त्यस्तै उनीहरुले जेलमा ठाउँ छैन भनेर सरकारले अपराध नै नठहर्ने कानुन बनाउन लागेको आरोप पनि लगाए । कानुनले कम उमेरमा विवाहलाई प्रोत्साहन गर्न नमिल्ने उनीहरुको तर्क छ ।
तर, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले तराइमा जति धेरै पढ्यो उतिनै दाइजो दिनुपर्ने बाध्यता रहेको बताउँदै त्यसकारण पनि कम उमेरमा विवाह गर्दा आर्थिकभार कम हुने कुरालाई मध्यनजर गर्दै विवाहको उमेर घटाउनु पर्नेमा जोड दिए । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले यस विषयमा अझै धेरै अध्ययन गर्नुपर्ने बताए ।