
प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएपछि समिति सदस्यहरु आक्रोशित भएका छन् । उनीहरुले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर खेद प्रस्ताव पारित गर्नसमेत माग गरेका छन् । आइतबार बिहान बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि यस्तो माग गरिएको हो ।
बैठकमा सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताए । संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेका देउवा संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हुने रावलले बताए ।
सांसदहरु सुदन किराती, राम कार्कीले पनि बैठकमा प्रधानमन्त्री उपस्थित नहुनले आशंका उब्जाएको बताए। आफू उपस्थित हुन नसक्दा प्रतिनिधि पठाउने गरिएको भए पनि आइतबारको बैठकमा प्रधानमन्त्रीले त्यसोसमेत नगरेको भन्दै उनीहरुले आपत्ति जनाए। महत्वपूर्ण विषयमा सांसदहरुले जवाफ मागेको अवस्थामा उपस्थित भएर जवाफ नदिनुले आशंका सिर्जना गरिएको बताए।
यता, कांग्रेस सांसदहरु भने पार्टी सभापतिसमेत रहेका देउवाको बचाउमा उत्रिएका छन् । कांग्रेसकी सचेतक पुष्पा भुसालले समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताएकी छन् । समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि कांग्रेस सचेतक भुसालले कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाको बचाउ गरेका हुन् ।
‘अपमान’ भन्ने शब्द उचित नभएको बताउँदै उनले भनिन्, ‘हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर प्रधानमन्त्रीको समय के भयो त्यसलाई बुझ्नुपर्छ ।’ अपमान नै भन्ने शब्द प्रयोग नगर्न उनले आग्रह गरिन् । कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताए ।

arthasanjal.com/wp-content/uploads/2022/06/Samsadiya-International-Samiti-1-768×435.jpg 768w, 






