
सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो ।
कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कानुनमन्त्री बन्दीले गााजा खेतीबारे अध्ययन भैरहेको जानकारी दिएका हुन् । ‘गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकमा यसको के प्रचलन छ ? नेपालमा कसरी गर्न सकिन्छ वा सकिंदैन ? भन्ने विषयमा अध्ययन गर्न लगाएका छौं,’ बन्दीले भने ।
नेपाल कानुन आयोगले गाँजा खेतीका सम्बन्धमा अध्ययन गरिरहेको र आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने उनको जवाफ छ ।
पूर्व कानुनमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले २०७६ फगुण २९ मा संघीय संसदमा गाँजा खेतीलाई नियमन तथाा व्यवस्थापन गर्नुपर्ने भन्दै पहिलो पटक गैर–सरकारी विधेयक दर्ता गराएका छन् । उनले सदनमा बारम्बार गाँजालाई औषधिका रुपमा प्रयोग गर्न सकिने र त्यसलाई नागरिकको जीवनस्तरलाई समेत माथि उठाउने भन्दै गाँजालाई खुला गर्नुपर्ने बताउँदै आएका छन् ।