अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कीर्तिमानी वृद्धि भएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२१.२८ अमेरिकी डलर पुगेको छ, जुन २०१२ यता अर्थात् १० वर्षयताकै उच्च हो । यसको असर नेपालमा पनि पर्ने देखिन्छ । वृद्धि भएको मूल्य भारतले समायोजन गरेमा फेरि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित छ ।
यद्यपि, भारतमा अहिले सवारी साधन इन्धनको मूल्यमा सरकारले राहत दिँदै आएको छ । गत मे २१ मा भारत सरकारले पेट्रोल र डिजेलमा उत्पादन शुल्क घटाएपछि राष्ट्रिय बजारमा तेलको मूल्यमा कुनै परिवर्तन भएको छैन । तर, अब फेरि एकपटक पेट्रोल र डिजेलको मूल्यमा उछाल आउन सक्ने देखिन्छ, जसको प्रभाव नेपालमा पर्नेछ ।
भारत सरकारले अन्तःशुल्क घटाएपछि जनताले राहत पाए पनि तेल कम्पनीमाथिको भार बढेको छ । अब कच्चा तेलको मूल्य बढेसँगै सरकारी स्वामित्वमा रहेका तेल कम्पनीहरूको नाफामा असर पर्नेछ । यस्तो अवस्थामा भारतमा पनि निकट भविष्यमै पेट्रोल र डिजेल महँगो हुन सक्ने अनुमान गरिएको छ ।
इन्डियन आयल कर्पोरेशनका अनुसार भारतमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर ९६.७२ रुपैयाँ र डिजेलको मूल्य ८९.६२ रुपैयाँ (भारु) प्रतिलिटर रहेको छ।
पेट्रोलियम पदार्थ आयात गर्दा सरकारले विभिन्न शीर्षकमा कर असुल्छ, जसले गर्दा नेपालमा अहिले पनि पेट्रोलियम पदार्थको मूल्य कीतिमानी छ । सरकारले केही दिन १० रुपैयाँ कर छुट दिएर मूल्य घटाएको पनि फेरि बढाइसकेको छ । अब भारतीय बजरमा मूल्य वृद्धि हुनसाथ नेपालमा पनि पुनः वृद्धि हुने निश्चित छ ।