मन्त्री पद जोगाउने ओले र श्रेष्ठको चतुर्‍याइँ : तत्काल संसद विघटन गरेर चुनावको मिती तोक्न प्रधानमन्त्रीलाई आग्रह

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Prem_Ale_Kisan-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Prem_Ale_Kisan-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Prem_Ale_Kisan-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/Prem_Ale_Kisan.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एकीकृत समाजवादीमा मन्त्री फेरदलको बिषय पछिल्लो समय पेचिलो बन्दै गएकोे छ । रातारात मन्त्री पद खुस्किन लागेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र प्रधानमन्त्री शेरबहादुर देउवाको पावर लागाएर मन्त्रीपद बचाएकाहरुले फेरि नयाँ चलखेल गर्न थालेको खुलासा भएको छ ।

मन्त्री पद खानकै लागि तत्कालिन समयमा एमाले अध्यक्ष केपी ओलीको नजिक रहेका प्रेम आले र किसान श्रेष्ठ अन्तिममा माधव कुमार नेपाल तिर लागेर पार्टी विभाजनमा लागेको आरोप लाग्ने गरेको छ । खाइपिइ आएको मन्त्री पद जानेनै भएपछि उनीहरुले पद बचाउँन अन्तिम आइडिया लगाइरहेको बताइएको छ ।

नेकपा एसले सचिवालय बैठकबाटै पुराना मन्त्रीलाई हटाएर नयाँमन्त्री पठाउँने गरि गरेको निर्णयलाई नै च्यालेन्ज दिँदै प्रधानमन्त्री देउवाले नेकपा एसको निर्णयलाई अस्विकार गर्दै मन्त्रीहरुलाई काम जारी राख्न निर्देशन दिएका थिए । केहि दिनमा मन्त्री फेरिदिने बचन देउवाले एसका अध्यक्ष नेपाललाई दिएको दाबी गरिए पनि घटनाक्रम नयाँ ढंगले बिकास हुन थालेको छ ।

बाहिर मुखले मन्त्री पदको लोभ छैन भनेर ओलेले भन्ने गरेका छन् तर भित्रभित्रै पद बचाउँनका लागि उनी सहित किसान श्रेष्ठ समेत मिलेर नयाँ प्रस्ताव प्रधानमन्त्री देउवा समक्ष गरेको बताइएको छ । ओले र श्रेष्ठले प्रधानमन्त्री देउवालाई तत्काल संसद विघठन गरेर चुनावको मिती तोक्न अनुरोध गरेको बताइएको छ । यसो गरेमा मन्त्री फेरबदल गर्न नपाइने बुझाइ उनीहरुको छ ।

श्रममन्त्री कृष्ण श्रेष्ठ (किसान) र पर्यटनमन्त्री प्रेम आले लगायत मन्त्रीहरुले देउवासँग भेटेरै चुनावी मिति घोषणा गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणलगत्तै चुनावी मिति घोषणा गर्नुपर्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘चुनाव घोषणा भइसकेपछि मन्त्री फेरबदल हुँदैन । प्रधानमन्त्रीसमक्ष चुनाव छिटो घोषणा गर्न सुझाव दिइएको छ ।’

तर तत्कालै भने बजेटमाथि संसदमा छलफल भइरहेको भन्दै मन्त्री फेरबदल गर्न रोकिएको छ । एकीकृत समाजवादीको आइतबार बसेको सचिवालयको बैठकले ४ मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।

पार्टीको त्यही निर्णयअनुसार मन्त्री बन्ने चारजनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ । तर, समाजवादीका मन्त्रीहरुकै कारण नयाँ मन्त्रीहरुको शपथ भएको छैन । बुधबार मात्रै मन्त्री हुन तम्तयार समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबार नै आफूहरुले शपथ लिने ग्यारेन्टी गरेका थिए ।

प्रधानमन्त्रीले समय मागेपछि शपथ रोकिएको अध्यक्ष नेपालले बताए । मन्त्री पद जोगाउने गरी उनीहरुले चुनावको मिति घोषणा गर्न प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार एसले मन्त्री फेर्ने निर्णय गरेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि दबाब छ ।

अहिले एसकै नेताहरुको प्रस्तावमा अन्य पार्टीका मन्त्रीहरुले पनि साथ दिएको स्रोतले जनाएको छ । ‘चुनाव घोषणा भएपछि यो सरकार कामचलाउ भएर अहिलेको मन्त्रिमण्डल पनि कायम रहने भनेर अन्य पार्टीका मन्त्री पनि प्रधानमन्त्रीलाई मिति घोषणा गर्नुपर्ने सुझाउन थालेका छन्,’ स्रोतले थप जानकारी दियो ।

अहिले संसद बैठकमा बजेटमाथि छलफल भइरहेको छ । मन्त्रालयगत छलफल भएकोले बजेटमाथि उठेका मन्त्रालयको प्रश्नको जवाफ दिइरहेकोले मन्त्री फिर्ताको निर्णय केही दिन पर सरेको छ । यही मेसोमा अझै पछि धकेल्ने उनीहरुको योजना छ । बजेट पासलगत्तै पार्टी निर्णय कार्यान्वयन गर्ने एस अध्यक्ष नेपालको प्रस्तावमा बहुमत नेताले जनाएका छन् ।

‘अध्यक्षज्यूले बजेटपछि पुराना मन्त्रीहरु फिर्ता गरेर नयाँ पठाउने निर्णय कार्यान्वयन गरौँ भन्नुभयो, बहुमत नेताहरु सहमत हुनुभएको छ,’ एक नेताले भने, ‘पार्टीको निर्णय कार्यान्वयन नहुँदा बाहिर राम्रो सन्देश जाँदैन भन्नेमा सबैको एउटा धारणा छ । बजेट पास लगत्तै मन्त्रीहरु फेरिन्छन् ।’

मन्त्री पद जाने भएपछि पाइपलाइनमा रहेका काम धमाधम हुन हुन थालेका छन् । श्रम मन्त्रालय र पर्यटन मन्त्रालयले काम सुरु गर्न लागेको योजनालाई अघि बढाएका छन् । जापान कामदार पठाउने काम अघि बढिसकेको छ । स्रोतका अनुसार सरकारमा रहेका कांग्रेस, माओवादी केन्द्र र जसपाका मन्त्रीहरु पनि ६ महिनाको लागि मन्त्री फेर्न नहुने पक्षमा उभिन थालेका छन् ।

मंसिरमा संघ र प्रदेशको दुई चरणमा चुनाव गर्ने तयारी भइसकेको छ । त्यही मिति देखाएर अन्य पार्टीले मन्त्री फेरबदल गर्न नहुने लबिङ गर्न थालेका हुन् । ‘अब कति समय छ र सरकारका मन्त्री परिवर्तन गर्ने ?,’ एक मन्त्रीको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘अब चुनावमा केन्द्रीत हुनुपर्छ ।’

कमेन्ट गर्नुहोस्