वित्तीय सुशासनमा नबसेको भन्दै नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले गरेको अडिटमा बैंकले प्रवाह गरेको कर्जा उच्च जोखिममा परेको, बैंकले वित्तीय अनुशासन कायम नगरेको फेला पारे पछि ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न भनेको हो ।
बैंकको सुपरीवेक्षण विभागले नेपालमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अडिट आउनु केही समयअघि सबै बैंकको अडिट गरेको थियो । सोही अडिटका बेला ग्लोबल आइएमई बैंक वित्तीय सुशासनमा नबसेको फेला परेपछि उसलाई चालू आवमा ३ अर्ब रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिएको हो ।
अब बैंकले चालू आवमा कमाएको नाफाको ठूलो हिस्सा प्रोभिजन गर्नुपर्ने भएको छ । बैंकले प्रवाह गरेको कर्जा जोखिममा पर्दै गएको, लोन रिकभरीमा समस्या देखिए पछि केन्द्रीय बैंकले ३ अर्ब रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिएको स्रोतको दाबी छ । बैंकको खराब कर्जा बढ्दै गएपछि बैंक थप जोखिममा पर्नबाट जोगाउन पनि केन्द्रीय बैंकले प्रोभिजन गराउने गर्छ ।
ग्लोबल आईएमईले तेस्रो त्रैमासमा प्रकाशित निष्क्रिय कर्जा (एनपीएल) केन्द्रीय बैंकलाई विश्वास नलागेपछि केन्द्रीय बैंक आफैले अडिट गरेको थियो । केन्द्रीय बैंकको अडिटबाट बैंकको एनपीएल सीमाभन्दा माथि देखिएपछि उसलाई कारबाही स्वरुप ३ अर्ब प्रोभिजन गर्न लगाइएको हो ।







