नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी बजेट व्यापार–घाटा कम गर्नेतर्फ लक्षित हुनुपर्ने बताएका छन् । अहिले नेपालको अर्थतन्त्र धरासायी बन्ने चिन्ता बढेको भन्दै आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
समाजिक संजालमा आगामी बजेटबारे आफ्नो सुझाव पेश गर्दै नेता पौडेलले वर्षौंदेखि नेपालको निर्यात व्यापार निरन्तर कमजोर बनेकै कारण मुलुकको शोधनान्तर स्थिति प्रतिकूल बनेको औंल्याएका छन् ।
‘वर्षौंदेखि नेपालको निर्यात व्यापार निरन्तर कमजोर बनेकै कारण मुलुकको शोधनान्तर स्थिति प्रतिकूल बनेको छ । १६ खर्बको हाम्रो बजेटमा जम्मा सात महिनाको व्यापार घाटा नै सवा ११ खर्ब पुगेको थियो । अहिले नेपालको अर्थतन्त्र धरासायी बन्ने चिन्ता छ’, उनले भनेका छन्, ‘तसर्थ, नेपालले आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमुलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । यस्ता विषयलाई बजेटले सम्बोधन गर्नुपर्छ ।’
त्यसैगरी मुलुकको अर्थतन्त्र कमजोर हुनुको अर्को कारण पर्याप्त पूँजिगत खर्च गर्न नसक्नु रहेको नेता पौडेलको ठहर छ । अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै साउन १ गतेबाट नै कार्यान्वयन गर्न सकिने खालका परियोजनामा जोड दिनुपर्ने उनी बताउँछन् ।







