९ वटा उपमहानगरको मतगणना सकियो: जनकपुरधाम र तुलसीपुर बाँकी

Share:

 वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनीक भैरहेको छ । निर्वाचन आयोगका पछिल्लो विवरण अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ९ वटा उपमहानगरको मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नृपबहादुर वडलाई दोब्बर मतान्तरमा पराजित गरेका हुन् । आँप चुनाव चिह्नबाट हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरे ।

उपमयेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै माओवादीकी शान्तिकुमारी अधिकारीलाई पराजित गरेकी हुन् ।

हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा २३ हजार ७५ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार अनन्‍त प्रसाद पौडेललाई २ हजार १ सय ६७ मतान्तरले पराजित गरेकी हुन् । पराजित अनन्‍त प्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानिया ३२ हजार ५ सय ९३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सुमित्रा काफ्‍लेले २३ हजार ९ सय ९ मत ल्याएकी छन् ।

बुटवल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्‍डेय ३० हजार २ सय ४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३१ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२ हजार ७ सय १८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २५ हजार ६१ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरुङले १७ हजार २३ मत ल्याएका छन् ।

नेपालगंज उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट २३ हजार ४ सय ६० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार पशुपति दयाल मिश्रालाई ११ हजार ७ सय ८५ मतान्तरले पराजित गरेका हुन् । पराजित पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९ सय ५० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत ल्याएकी छन् ।

धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई २० हजार ८ सय २१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघा २० हजार ५ सय १० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याएका छन् ।

इटहरी उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन् । पराजित यामकुमार चुङ्गवाङ सुब्बाले २८ हजार ३१ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार संगीताकुमारी चौधरी ३२ हजार ४ सय ३६ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्‍टले १८ हजार ३१ मत ल्याएका छन् ।

घोराही उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार नरुलाल चौधरी ३१ हजार ७ सय २८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोख्रेललाई ५ हजार ३ सय ६० मतान्तरले पराजित गरेका हुन् । पराजित हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार हुमाकुमारी डिसी ३० हजार ४ सय ३ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले ३० हजार ३ सय ५४ मत ल्याएका छन् ।

कलैया उपमहानगरपालिका नेपाल कम्युनिष्ट पार्टी एमालेका विनोदप्रसाद साह विजयी भएका छन् । उनले २४ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५ सय ४० मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका रौशन परविन निर्वाचित भएका छन् । उनले १९ हजार २ सय ५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका प्रमोदप्रसाद गुप्‍ताले १८ हजार ३ सय २ मत ल्याए ।

जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल १८ हजार ७ सय ४३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९ सय ६४ मतान्तरले पराजित गरेका हुन् । पराजित सरस्वतीदेवी चौधरीले १७ हजर ७ सय ७९ मत ल्याएकी छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी १७ हजार ४ सय ९२ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाहीले १५ हजार ८ सय ४२ मत ल्याएकी छन् ।

तुलसीपुर र जनकपुरधाम उपमहानगरपालिका मतगणना जारी

तुलसीपुर उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार टिकाराम खड्का २० हजार ८ सय ९४ मतका साथ अग्रस्थानमा छन् । खड्कालाई पछ्याइरहेका नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ४० मत ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १२ हजार २ सय ८३ मतका साथ अग्रस्थानमा छन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका शिवशंकर साहले ९ हजार ३ सय ३ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्