स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । सोमबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
५ महानगरपालिकासहित २५ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन ।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ ।
अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ६, सिराहा, धनुषा, बारा र पर्साबाट १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ ।
यस्तै बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन् ।
यस्तै गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीका ३ पालिका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र कोटहीमाई गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ ।
यस्तै कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ ।
यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढी गंगा, अछामको साफेबगर नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ ।
अब कसको अग्रता कति ?
- नेकपा एमाले-७
- नेपाली कांग्रेस-५
- जसपा- ३
- एकीकृत समाजवादी-२
- माओवादी केन्द्र- २
- लोसपा- २
- स्वतन्त्र-२
- गणना हुन बाँकी -२