किन छोडे पर्सिजा रोहितले

Share:

नेपाली फुटबलर रोहित चन्दले इन्डोनेसियाली शीर्ष डिभिजनको क्लब पर्सिजा जाकार्ता छाडेका छन् । उनी सन् २०१७ मा शीर्ष श्रेणीको क्लबमा अनुबन्ध भएका थिए ।

शनिवार पर्सिजाले सामाजिक सञ्जालमा फोटो र भिडियोसहितको स्ट्याटस राखेर रोहितलाई धन्यवाद दिएको थियो । एक दिनपछि रोहितले पनि सामाजिक सञ्जालमार्फत क्लबबाट बाहिरिएको अधिकारिक जानकारी गराएका छन् । उनले पर्सिजासँगको यात्रा रमाइलो रहेको भन्दै धन्यवाद दिएका छन् । सबैभन्दा लामो समयसम्म विदेशी लिग खेल्ने एक्ला नेपाल फुटबलर हुन् रोहित ।

‘किशोरावस्थामा क्लबमा सामेल भएको थिएँ, क्लबले मलाई राम्रो खेलाडी मात्र नभई राम्रो मानिस बन्न पनि साथ दियो । मेरो करियरको उतारचढावमा क्लब सधैं त्यहाँ रह्यो र सधैं मलाई विश्वास गर्यो,’ रोहितले लेखेका छन्, ‘यो क्लबको लागि खेल्न पाउनु सम्मानको कुरा हो र क्लबको लागि उपाधि जित्न मद्दत गर्नु एक अविश्वसनीय अनुभूति रह्यो ।

रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जितेका छन् । उनी एक सिजन लिगको सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए । इन्डोनेसियामा रोहित हिमालयन टाइगर उपनामले चिनिन्छन् । त्यहाँ उनको ‘फ्यान फलोइङ’समेत गज्जबको छ । हरेक पटक विदेशी प्रशिक्षक आउँदा उनीसँग ठूलो अपेक्षा समेत राख्थे ।

रोहितले सन् २०१८ मा पर्सिजाबाट लिग उपाधि जितेका थिए । लिगको उत्कृष्ट खेलाडी बनेको पनि त्यही सिजन हो । ‘वर्ष २०१८ त्यस्तो चीज हो जसको लागि म सधैं आभारी रहनेछु । जब हामीले लिग जित्यौं र मैले लिगको उत्कृष्ट खेलाडी बन्ने खुशी पाएँ । यो सबै हामी सबैको सामूहिक प्रयास र विशेष गरी विश्वका उत्कृष्ट जाकमानिया ‘समर्थक’को सहयोगले सम्भव भएको हो ।

रोहितले व्यवस्थापन, क्लब, प्रशिक्षक, सहकर्मी, पदाधिकारी र समर्थकहरूको साथ सधैं आफ्नो हृदयमा रहने बताएका छन् । उनले भारी हृदयका साथ क्लबलाई विदाई गर्ने समय आएको बताएका छन् । ‘भारी हृदयका साथ, मलाई लाग्छ कि क्लबलाई बिदाइ गर्ने समय आएको छ । पर्सिजामा मेरो सम्पूर्ण अवधिमा, मैले धेरै गर्व र सम्मानका साथ क्लबको ‘क्रेस्ट’ बोकेको छु । पर्सिजाको लागि खेल्नु मेरो आनन्द थियो र आशा छ कि हामी एक दिन फेरि बाटोहरू पार गर्नेछौं । अर्को पटक सम्म ।’

कमेन्ट गर्नुहोस्