युगान्डामाथि नेपालको पहिलो जित

Share:

 नेपालले पाहुना टोली युगान्डाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रि क्रिकेटमा पहिलो जित निकालेको छ। टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित१८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि जनेट बाबाजीले सर्वाधिक २१ रन जोडिन् । रिता न्यान्गेन्डो र इभ्लिन एनिपोले समान १६÷१६ रन जोडे। केभिन विनोले ११ रन बनाइन् ।

नेपालकी हिरन्मायी रोयले दुई विकेट लिइन् । रोयले डेब्यु खेलमै विकेट लिएकी हुन् । यस्तै अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । तर, नेपालले पुरै ओभर खेल्न सकेन । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन बनाइन् । यस्तै सिता राना मगर ११ रनमा आउट भइन् भने डोली भट्टले ६ रन जोडिन् ।

अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री र इन्दु वर्मा समान १÷१ रनमा आउट भए । अश्मिना कर्माचार्य ६ तथा डेब्यु खेलाडी हिरन्मयी रोय सुन्य रनमा आउट भए । कविता कुँवर ६ रनमा अविजित रहिन् ।

युगान्डाकी कोन्सी अवेकोले ३ विकेट हात पारिन् । सराह एकिटेङले २ विकेट लिइन् । यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । तर, पाँच खेलको सिरिजमा नेपाल ३–१ ले पछि रहेको छ । युगान्डाले सिरिज यस अघि नै जितिसकेको छ । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी–२० खेल्न खेल्नेछ ।

कमेन्ट गर्नुहोस्