इसेवा मनी ट्रान्सफर र ‘टच एन गो’बीच साझेदारी

Share:

काठमाडाैं । नेपालको डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले ‘टच एन गो वालेट’सँग सम्झौता गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा डिजिटल माध्यमबाट योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यस सम्झौता टिएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपाल र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाबीच सम्पन्न भएको हो ।

सम्झौतामा इसेवा मनी ट्रान्सफर र टच एण्ड गो वालेट बीचको दीर्घकालीन सहकार्यको सम्भावना पनि प्रस्ट पारिएको छ । सम्झौता अनुसार अब मलेसियामा रहेका नेपालीहरूले टच एन गो वालेट मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन् ।

टिएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरनले नेपालकै सबैभन्दा ठूलो फिनटेक कम्पनी एफवान सफ्ट अन्तर्गतको पहिलो डिजिटल रेमिटेन्स कम्पनी, इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदा खुशी व्यक्त गरे।

उनले भने, ‘यो साझेदारी केवल रेमिटेन्समा मात्र सीमित छैन, हामी एफवान सफ्टसँग आपसी वृद्धिका र नवीन प्रविधिमा आधारित सहकार्यका थुप्रै सम्भावनाहरूमा काम गरिरहेका छौँ। सामाजिक सुरक्षामा पहुँच विस्तार र डिजिटल समावेशितालाई प्रवर्द्धन गर्ने दिशामा यो पहल एक महत्वपूर्ण र दूरदर्शी कदम हो ।

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मलेसियामा बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक सुरक्षा कोषमा सहज पहुँच प्रदान गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। अब मलेसियामा रहेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले टच एन गो एपमार्फत सहज रूपमा सामाजिक सुरक्षा कोषमा आफ्नो योगदान गर्न सक्नेछन् । यस साझेदारीले भुक्तानी प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउनुका साथै प्रवासी नेपालीहरूको दीर्घकालीन वित्तीय सुरक्षामा पहुँच टेवा पुर्‍याउने छ भन्ने हाम्रो विश्वास छ।’

इसेवा मनी ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू प्रयोग गरी देशव्यापी रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्