ओली-देउवाविरुद्ध नाराबाजी गर्ने तिन युवा धरौटीमा छुटे

83
0
Share:

काठमाडाैं । नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा छुटेका छन्। सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयले शुक्रबार नाै–नाै हजार रुपैयाँ धरौटी लिएर छाडेको हो।

गत सोमबार काठमाडौंको टुँडिखेलमा गौरापर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। गोपीकृष्ण र रामबहादुर मंगलबार तथा ठगुन्ना बुधबार पक्राउ परेका थिए। चौतर्फी दबाबपछि प्रहरीले चौथो दिनमै नै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

विरोध गर्ने मौलिक हकको हनन हुने गरी पक्राउ गरेर फौजदारी कसुर चलाइएको भन्दै अधिकारकर्मीदेखि विभिन्न दलका नेताहरूले विरोध गरेपछि प्रहरी नरम बनेको हो। साधारण तारेखमा छाड्नुपर्नेमा नाै–नाै हजार धरौटी लिइएकोमा उनीहरू असन्तुष्ट बनेका छन्। उनीहरूविरुद्ध हुलदंगा गरेको अभियोग लगाइएको छ।

पक्राउ परेकामध्ये जैसी आइतबार वैदेशिक रोजगारीमा जाँदै छन्। त्यस्तै, बुढा पनि वैदेशिक रोजगारीको तयारीमा छन् भने ठगुन्ना कीर्तिपुरस्थित सहिद स्मारक कलेजका विद्यार्थी हुन्।

कमेन्ट गर्नुहोस्