
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कोषको खुद नाफा र प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै कोषको प्रतिशेयर आम्दानी घटेको छ। कोषको प्रतिशेयर आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ।
कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेको छ। त्यस्तै, कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेको छ।
५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।








