
पोखरा । कास्की जिल्लाको प्रमुख शहर पोखरामा रहेको फेवातालको बीचमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल ‘तालबाराही’ मन्दिर २०७२ सालको भुकम्पबाट आंशिक क्षति भएको मुख्य मन्दिर तथा प्रांगणमा रहेका संरचनाहरुको पुनर्निर्माण हुने भएको छ ।
बिक्रम सम्बत १४६७ मा स्थापना भई २०१४ सालमा निर्माण भएको मन्दिरको पुनः निर्माण कार्य पुरातत्त्व बिभागको समन्वयमा करिब ९ करोड रुपैयाँको लागतमा पुनर्निर्माण गर्न लागिएको हो ।
पोखराका महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गर्दै दुई वर्ष भित्रमा पुरानै स्वरुपमा निर्माण सम्पन्न गर्ने गरी मास्टर प्लान बनाएर कार्य गर्न लागिएको बताएका छन्।
प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला रहेको र त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती रहेको र बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वासले पछि त्यहिँ मन्दिर स्थापना गरिएको इतिहास रहेको छ ।







