
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले बिहीबार साँझ एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।
जस अनुसार कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रु. १५ करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो ।
यस्तै धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको बैंकले जनाएको छ । यसअघि एकल ग्राहक कर्जा सीमा १२ करोड रहेको थियो ।
नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने छ ।
यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ। असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात (एलटीभी रेसियो) समान ५० प्रतिशत कायम गरेको हो ।







