राप्रपा र महानगर बीच कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति

Share:

राजेन्द्र लिंग्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति भएको छ। राप्रपा र काठमाडौं महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर खाली गर्ने सहमति भएको हो।

महानगरले बिजुलीको हाइटेन्सन लाइनमुनि उक्त घर बनेकोले जोखिम हुने तथा नक्सा पास बिना नै राप्रपा कार्यालय रहेको घर बनेको भन्दै भत्काउने तयारी गरेको थियो। महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खाली गर्न भनेको थियो।

सोमबार उक्त भवनमा डोजर लगाउने महानगरको तयारी बिरुद्ध राप्रपाका नेता तथा कार्यकर्ताले कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्साएर विरोधसमेत गरेका थिए। राप्रपाले भने घर खाली गर्न ३५ दिन समय लाग्ने भन्दै सोमबार महानगरलाई लिखित पत्र नै बुझाएको थियो । घटनाले अर्कै रुप लिनु अगावै जिल्ला प्रशासन कार्यालय काठमाडौंले समन्वयन गर्दै राप्रपा र महानगरसँग यस विषयमा छलफल गराएको थियो। छलफलका क्रममा नै २१ दिनभित्र उक्त भवन राप्रपाले खाली गर्ने सहमति जुटेको हो।

कमेन्ट गर्नुहोस्