काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओमा दिएको आवेदनमा सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता/खारेज गर्न सक्ने व्यवस्था गर्ने भएको छ ।
बोर्डले कम्पनीको आईपीओ निष्काशनका लागि सी-आस्वा प्रणालीमा दर्ता भएका आवेदकहरुको हकमा यस्तो निर्णय गरेको हो । आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले ३ दिनको समय दिइने बोर्डले जनाएको छ ।
त्यसैगरी, बोर्डले बिक्री प्रबन्धक र खातामा पैसा नभएपनी सेयर भरिदिने बैंक सबैलाई कारबाही गर्ने भएको छ । बोर्डले यो प्रकरणमा बिक्री प्रबन्धक, नक्कली आवेदक र पैसा नभएपनी सेयर भरिदिने एनआईसी एशिया बैंकलाई कारबाही गर्ने भएको हो ।
‘आस्वा सदस्य एनआइसी एशिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाइनेछ । ‘ बोर्डले भनेको छ ।
केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसँग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदककरले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने बोर्डले जनाएको छ ।
त्यसैगरी, बोर्डले निष्काशन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने भएको छ ।
निष्काशन स्थगित भएको कारणबाट आवेदन गरेका सर्वसाधारणहरुको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको सेयर बाँडफाँट भई २९ करोड ४६ लाख ७८ हजार दुई सय पचास रुपैया कम्पनीको खातामा रकमान्तर भइसेकेको छ ।









