
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले विराेध गरेपछि बैठक आधा घन्टा स्थगित भएको हाे ।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए । उनले भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घन्टा स्थगित भएको सूचना सुनाए ।
सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए ।







