काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका २१ वाणिज्य बैंकको नाफा आधा खर्ब नाघेको छ । चालु आर्थिक वर्षको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । चैत मसान्तसम्ममा बैंकहरुले ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ कमाएका छन् ।
यो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
सबै भन्दा कम नाफा कृषि विकास बैंकले कमाएको छ । सरकारी स्वामित्वकै कृषि विकास बैंकले १० महिनामा १ अर्ब २२ करोड रूपैयाँ मात्र नाफा कमाएको छ । विश्लेषण गर्दा नाफा बढी कमाउनेमा मर्जर र एक्विजिसनमा गएका बैंकहरू देखिएका छन् । मर्जरमा नगएका बैंकहरूको नाफा भने तुलनात्मक रुपमा न्यून देखिएको छ । सनराइज र्बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र माछापुछ्रे बैंकले २ अर्बभन्दा कम नाफा गरेका छन् । एनसीसी बैंकलाई गाभेको कुमारी बैंकले पनि २ अर्ब नाफा कटाउन सकेन ।







