१५ बुँदे नीतिगत प्रतिबद्धता सहित समाजवादी मोर्चाको घोषणा आज राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चा बनाउन तयार भएका हुन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) भने मोर्चामा सामेल हुनेबारे आन्तरिक छलफलमा भएपनि गत असार १ गते प्रधानमन्त्रीलाई भेटेर समाजवादी मोर्चामा समेटिने बताएको थियो ।
कांग्रेस र एमालेपछि संसदमा तेस्रो बलियो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गर्न लागिएको हो। हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलहरूबीच भविष्यमा एकता समेत हुन सक्ने बताइएको छ। उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारका रूपमा पनि परिभाषित गर्न खोजेका छन्।
प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन्। यी तीन दलको मोर्चा बने सांसदको संख्या ५४ पुग्नेछ। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन्।







