डेढ करोडभन्दा बढीको अवैध कपडासहित हेटौंडाबाट दुई भारतीय पक्राउ

Share:

हेटौँडा। मकवानपुर प्रहरीले हेटौँडाबाट करिब डेढ करोड मूल्यबराबरको कपडासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०६ जिई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा– १५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले विशेष सूचनाको आधारमा उक्त ट्रकलाई रोकी जाँच गर्दा चारैतिरबाट प्याजको एक सय ६८ वटा बोराहरूले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद गरेको जानकारी दिए । ट्रकमा रहेको पाइन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा तीन लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार दुई सय ५० रुपैयाँ, सेरवानी कुर्था एक लाख तीन हजार रुपैयाँ र कोरा कपडा पाँच लाख २५ हजार चार सय ४७ रुपैयाँ मूल्यबराबरको रहेको बताइएको छ।

यस्तै, एक सय ६८ वटा बोरामा रहेको ८४ क्विन्टल प्याजको मूल्य दुई लाख ५२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६ सय ९७ रुपयाँबराबर रहेको छ। एक सय ६८ बोरा प्याजको भने प्रतिकिलो ५० रुपैयाँका दरले भन्सार काटिएको प्रवक्ता कार्कीले बताए।

प्रहरीले उक्त अवैध कपडासहित ट्रकचालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर– ७ बस्ने ३३ वर्षका रन्जौद सिंह र सहचालक बिहार प्रान्त मोजफ्फपुर माहामाद बस्ने २६ वर्षका सुधीरकुमार सहनीलाई नियन्त्रणमा लिएको छ।

प्रवक्ता कार्कीले थप अनुसन्धानपछि उक्त ट्रक र कपडा राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइने जानकारी दिए।

कमेन्ट गर्नुहोस्