
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आज (असार १ गते) देखि प्रिमियममा आईपीओमा निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।
इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको हो।
इन्स्योरेन्सको सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।







