
एसियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुने ३ करोड ४० लाख रुपैयाँबराबरको १०० अंकित दरका कुल ३ लाख ४० लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्न लागेको हो ।
त्यसैगरी, सर्वसाधारणमा निष्काशन हुने जारी पुँजीको २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन पाउनेछन्।
उक्त आईपीओमा आयोजना (अतिप्रभावित क्षेत्र इलाम वडा नं. १० तथा सूर्योद य नगरपालिका–११ का बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता (४० प्रतिशत) र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात २ लाख ४ हजार कित्ता छुट्याइएको छ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
उक्त आईपीओमा पुस १२ गतेसम्म आवेदन दिनुपर्नेछ । यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा स्थानीयले भने पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओ इलामस्थित एनएमबि बैंक, लक्ष्मी बैंकको माइजोगीमाई शाखा, प्राइम बैंकको बिब्ल्याँटे शाखा र ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।
आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








