हालसम्म ११ वाणिज्य बैंकसहित १३ कम्पनीको लाभांश घोषणा, कसको कति ?

202
0
Share:

हालसम्म ११ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव तथा घोषणा गरेका हुन् । जसमध्ये कुमारी बैंक र सिटिजन्स बैंकको लाभांश साधारणसभाबाट समेत पारित भइसकेको छ ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, ग्लोबल आइएमई, एनसीसी र सानिमा बैंकको लाभांश पारित हुन् रहेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई र एनसीसी बैंकले लाभांश पारित गर्न साधारणसभा समेत आह्वान गरिसकेका छन् । अन्य बैंकहरु पनि लाभांश वितरणको लागि अन्तरिक छलफलमा जुटेका छन् ।

हालसम्म लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्ने बैंक अफ काठमाण्डू रहेको छ भने सबैभन्दा कम लाभांश घोषणा गर्नेमा मेगा बैंक रहेको छ ।

बैंक अफ काठमाण्डूले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

बढी लाभांश घोषणा गर्ने दोस्रो बैंकमा एभरेष्ट बैंक देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश (१३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सर्वाधिक लाभांश घोषणा गर्ने बैंकको तेश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

चौथो स्थानमा ग्लोबल आइएमई बैंक छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश) रहेको छ ।

त्यसैगरी पाँचौँ नम्बरमा कुमारी बैंक रहेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेर पारित समेत गरिसकेको छ ।

यस्तै, एनसीसी बैंकले पनि हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा बढी हो ।

त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन बैंकको १६औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ को लागि कुल ८ लाभाांश वितरण गर्ने घोषणा गरेको छ । जसमा ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश छन् । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश गत वर्षकोभन्दा कम हो ।

त्यसैगरी एक पूर्वाधार विकास बैंक र एक विकास बैंकले पनि गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र गरिमा विकास बैंक बैंकले पनि गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेका हुन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आफ्ना सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित साधारणसभा समेत बोलिसकेको छ ।

यस्तै, गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कमेन्ट गर्नुहोस्