
जनता समाजवादी पार्टी जसपाका नेता तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउने बताएका छन् । शनिबार वीरगञ्ज-२१ स्थित ताजपुरमा घरदैलोका क्रममा मतदाताहरुलाई आफ्नो एजेन्डा सुनाउने क्रममा जसपा-एमाले गठबन्धनका उम्मेदवार यादवले वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउनुका साथै वीरगञ्जलाई औद्योगिक राजधानी घोषणा गर्न आफूले पहल गर्ने बताएका छन् ।
स्थानीय मतदातासँगको भेटघाट पश्चात आयोजित अनौपचारिक कार्यक्रममा यादवले नेपालको सबैभन्दा महत्वपूर्ण उद्योग भएको क्षेत्र औद्योगिक करिडोर घोषणा नहुनु दुर्भाग्यपूर्ण भएको बताउँदै यादवले भने, ‘सबैले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने, वीरगञ्ज-पथलैया क्षेत्रलाई उद्योगीक करिडोर घोषणा गराउँछु भनेर जान्छन् तर काम कसैले पनि गर्दैन । तर, यसपटक म सांसद्का रुपमा निर्वाचित भएर गए पाँच वर्षभित्रमा जसरी पनि यसको क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउँछु ।’
यस क्षेत्रलाई उद्योगीकहरुले वर्षौंदेखि औद्योगिक करिडोरको माग गर्दै आएका छन् । त्यस्तै यादवले यस औद्योगिक क्षेत्रमा रहेका उद्योगी र व्यवसायीले भोगिरहेको सुरक्षा चुनौतीको विषयलाई पनि आफूले जोडदार तरिकाले उठाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यहाँका उद्योगहरु सुरक्षित छैनन्, राज्यले प्रदान गर्ने सुरक्षा संयन्त्र अपुग छ । अब त्यस्तो हुँदैन । उद्योगीकहरुको सुरक्षाका लागि म पहल गर्छु । पर्यो भने सदन मात्र होइन सडकमा पनि आएर देखाउँछु ।’








