स्वतन्त्रसहितका ३७ जना उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा

202
0
Share:

कञ्चनपुरमा एक प्रतिनिधिसभा सदस्य र एकजना प्रदेशसभा सदस्य उम्मेदवारसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पल्टु राना र प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार मदन दमाईसहित ३७ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालीन अध्यक्ष पल्टु राना र बिचौलिया मदन दमाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राना कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् । मदन दमाईले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका हुन् । रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदाबी गरिएको छ । बिचौलिया घोषित गरेर दमाईलाई ३७ लाख ४६ हजार ८ सय ८० रुपैयाँ बिगो सहित कसुर तथा सजाय मागदाबी गरिएको छ ।

यसैगरी महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा आयोगले नगर विकास समितिका तत्कालीन अध्यक्षहरू, कर्मचारी, मालपोत कार्यालयका तत्कालीन प्रमुख तथा अधिकृतहरू तथा जग्गा नाममा लिने ३७ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

कमेन्ट गर्नुहोस्