
काठमाडौं । हरेक वर्ष दशैँ नजिकिएसँगै नयाँ नोटको चर्चा हुने गरेको छ । ‘कटकटे’ नयाँ नोटले दशैँलाई छुट्टै शोभा दिने गर्छ ।
हाम्रो मस्तिष्कमा दशैँ भन्ने बित्तिकै नयाँ नोटको चित्र आइहाल्छ । दशैँमा नयाँ नोट अपरिहार्य त होइन, तैपनि नयाँ नोट नहुने प्रचलन बसिसकेको छ ।
दशैँ नजिकिने बित्तिकै गाउँघरमा शहरमा बस्ने आफ्ना छारोछोरी, इष्टमित्र वा नातेदारहरुलाई फोन गरेर भनिहाल्छौँ मलाई यति रुपैयाँको नयाँ नोट साटेर ल्याइदे है भनेर । यस वर्ष चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँदरका प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही गर्ने तयारी गरेको हो ।
नयाँ नोटको चर्चा हुने गरे पनि नोट बनाउन कति खर्च लाग्छ ? नयाँ नोट कहाँ छापिन्छन् ? नयाँ नोट छाप्नका लागि के–के प्रक्रियाहरु पूरा गर्नुपर्छ ? भन्ने विषयमा भने धेरैलाई थाहा नहुन सक्छ ।
कसरी छापिन्छन् नयाँ नोट ?
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसैको उपदफा (४) अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ । नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले निर्णय गरेबमोजिम हुन्छ ।
नोट छाप्नका लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ ।राष्ट्र बैंकले जति मन लाग्यो उति पैसा छाप्न पाउँदैन । देशको अर्थतन्त्रको आधारमा मुद्राको मूल्य निर्धारण भएको हुन्छ । सरकारले सुन, विदेशी सरकारहरुको सुरक्षा ‘सेक्यूरेटीज’ खरिद गरेको हुन्छ । यस्तो सेक्युरेटीमा लगानी गर्दा त्यसको ब्याज पनि पाइन्छ ।
चाहिएको बेलामा लगानी तुरुन्त फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पत्ति हो । यीनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो त्यस बराबरको सम्पत्ति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ ।
कहाँ छापिन्छन् नयाँ नोट ?
नयाँ नोटहरू कहाँ छापिन्छन् ? यसको विषयमा आमा नागरिकलाई चासो हुने गरेको छ । खासमा हामीले प्रयोग नोटहरू नेपालमै छापिँदैनन् ।
नेपाली मुद्राको छपाइ अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट सुरक्षण मुद्रण कम्पनी (Security Printing Company) छनौट गरी सोही कम्पनीमार्फत गरिन्छ । नेपाली नोटहरु चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसीया लगायतका मुलुकहरुमा छापिन्छन् ।
हाल विश्वभर नोट छपाइ हुने कम्पनीहरु १० वटा कम्पनीमार्फत नेपालले टेन्डर गर्ने गरेको नेपाल राष्ट्र बैंक मुद्रा व्यस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल बताउँछन् ।
कुन दरको नोट छाप्न कति लागत लाग्छ ?
नेपालमा अहिले सात प्रकारका नोटहरू चलनचल्तीमा रहेका छन् । नोटहरुमा रहेको सुरक्षा विशेषता र कुन देशमा छपाइ भयो भन्ने आधारमा नोट छाप्न लाग्ने लागत निर्धारण हुने मुद्रा व्यस्थापन विभागका प्रमुख नेपाल बताउँछन् । ट्रेण्डर कस्ट र म्यानेजमेन्ट कस्ट छुट्टाछुट्टै हुने उनले बताए ।
एक हजारका नोट छपाइका लागि ३ रुपैयाँ ३७ पैसा टेन्डर लागत लाग्ने उनले बताए । त्यसैगरी ५०० रुपैयाँको एउटा नोट छाप्न ४ रुपैयाँ ६८ पैसा लागत लाग्ने गरेको छ । पाँच सयको नोट छाप्न सबैभन्दा बढी लागत लाग्ने गरेको छ । ५०० को नोटमा थप सुरक्षा विशेषता रहेका कारण पनि महँगो भएको विभागका प्रमुख नेपालले बताए ।
त्यसैगरी, १०० को नोट छाप्न २ रुपैयाँ ९९ पैसा, पचास रुपैयाँको एउटा नोट छाप्न २ रुपैयाँ ६७ पैसा, २० रुपैयाँको छाप्न १ रुपैयाँ ७३ पैसा, १० रुपैयाँको छाप्न १ रुपैयाँ ४० पैसा र पाँच रुपैयाँको नोट छाप्न १ रुपैयाँ ६८ खर्च लाग्ने गरेको छ।
त्यसैगरी, अहिले एक रुपैयाँ र दुई रुपैयाँ दरका भने सिक्का छपाइ गरिन्छ । एक रुपैयाँको सिक्का छपाइमा २.४३ पैसा र २ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ७० पैसा लाग्ने नेपालले बताए ।
हाल चलनचल्तीमा रहेका नोटहरू
नेपालमा विभिन्न ११ प्रकारका नोटहरू रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा विभिन्न ११ फरकफरक दरका नोटहरू रहेका छन् । रु.१, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० गरी जम्मा ११ दरका नोटहरू रहेका छन् ।
ती मध्ये सबै दरका नोटहरू चलनचल्तीमा भने छैन । हाल सात प्रकारका नोटहरू मात्र चलनचल्तीमा छन् । हाल रु.१, २, २५ र २५० को नोटहरू भने निष्काशन गरिएका छैनन् ।
नोटको जतन कसरी गर्ने ?
नयाँ नोट बनाउन नोटको मूल्य भन्दा बढी लागत लाग्ने गरेको छ । त्यसैले हामीले नोटको जतन गरेर पैसा छाप्दा लाग्ने राज्यको भारलाई थोरै भएपनि कम गर्न सक्छौँ । नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ ।
– नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं ।
– नोटमा जथाभावी केरमेट नगरौँ ।
– समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।
– नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने भएकाले नोटको जतन गरी देशको सम्पत्ति जौगाऔँ ।
– नोटलाई माटो, धमीरा, आगो र पानीबाट जोगाऔं । नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौँ ।
– नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गरौं र अरुलाई पनि सिकाऔँ ।
– नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं।
– पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरूले सकेसम्म नछोऔँ ।
– नोट टांचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने भएकाले जतन गरौँ । (नेपाल राष्ट्र बैंक)
नोटको पहिचान कसरी गर्ने ?
नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । जस्तैः सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिँदैन ।
सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा NRB लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ । सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिँदैन तथा लत्पतिदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।

arthasanjal.com/wp-content/uploads/2022/09/naya-not-1024×582.jpg 1024w, 






