
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा उच्च सतर्कता बढाउने निर्णय गरेको छ ।
बुधबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।
भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत–पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।
‘आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ,’ प्रवक्ता तिवारीले भने,‘सीमानाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायतका समसामयिक विषयमा बैठकमा छलफल भएको छ।’








