पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

114
0
Share:

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर १ रुपैयाँ मूल्य घटाएको जनाएको हो ।

इन्डियन आयल कर्पोरेसन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगम सञ्चालक समितिको हिजोको बैठकले आजबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

यस्तै, हवाई इन्धनको आन्तरिक तर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।

मूल्य घटेसँगै पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा पेट्रोल १६० रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेलको भाउ प्रतिलिटर एक सय ५१ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ र डिजेल/ मट्टितेल प्रतिलिटर १ सय ५३ रुपैयाँ तोकिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर १५४ रुपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटर दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्