एन्फा उपाध्यक्ष लामा फरार अपराधी रहेको खुलासा

Share:

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा फरार अपराधी रहेको खुलासा भएको छ । उपाध्यक्ष लामा लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको हो ।

उच्च अदालत पाटनबाट २०६४ जेठ २० गते फैसला हुँदा लामालाई लागु औषध खैरो हिरोइन बेचबिखन गर्न लागेको कसुरमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो । कैद र जरिवानाको फैसला सुनाइएको भएपनि लामा कैद र जरिवाना भुक्तान नगरी फरार रहेको खुलेको हो ।

२०६१ साल साउन ८ गते काठमाडौँको वनस्थलीबाट ५ ग्राम खैरो हिरोइनसहित दावा लामा पक्राउ परे । साबिकको सर्लाही जिल्ला साखापुर गाविस वडा नम्बर १ घर भएका लामालाई काठमाडौँको वनस्थली चोकबाट पक्राउ गरिएको थियो ।

तत्कालीन समयमा २० वर्षका रहेका भनिएका दावाको साथबाट खैरो हिरोइन बरामद भएको र बयानमा उक्त खैरो हिरोइन बेचबिखनका लागि लिई हिँडेको भनेर बयान दिएपछि प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दावालाई लागु औषध नियन्त्रण ऐन अन्तरगत कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले लामालाई तत्काल प्राप्त प्रमाणबाट उनी निर्दोष हुन् भनी भन्न नसकिने भन्दै थुनामा पठायो ।

सो मुद्दामा १० महिनापछि २०६२ जेठ १० गते काठमाडौँ जिल्ला अदालतले फैसला सुनाउँदै ५ ग्राम खैरो हिरोइन विक्री वितरणका लागि पर्याप्त होइन भन्दै दावालाई लागुऔषधको सेवनमा दोषी ठहर गरी ६ महिना कैदको फैसला सुनाइयो ।

काठमाडौँ जिल्ला अदालतको फैसलामा भनिएको थियो, ‘बरामद भएको ५ ग्राम लागु औषध कारोबारको लागि पर्याप्त हो भनी भन्न नसकिने र प्रतिवादीले कहिले काहीँ सेवन गर्ने गरेको भन्ने कुरा समेत निजको बयानबाट देखिएकोले यी प्रतिवादीको सेवन सम्मको कसुर कायम हुन सक्ने यी प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (छ) को कसुरमा ऐ को दफा १४ (१) (ङ) बमोजिम ६ महिना कैद हुने ठहर्छ ।’

अदालतको फैसलासँगै १० महिना कैद भुक्तान गरिसकेका लामा थुनामुक्त भए ।

तर सरकारी वकिललाई काठमाडौँ जिल्ला अदालतको फैसला चित्त बुझेन । सरकारी वकिल कार्यालय पुनरावेदनको निवेदन लिएर तत्कालीन पुनरावेदन अदालत पाटन पुग्यो ।

पुनरावेदन अदालत पाटनले दावा लामालाई सेवनमा मात्रै दोषी कायम गरी गरिएको फैसला प्रमाणको रोहमा नमिली फरक पर्न सक्ने भएकाले प्रत्यर्थी झिकाउने आदेश भयो । त्यसपछि पेसीमा चढेको उक्त पुनरावेदनको निवेदनमा पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते फैसला सुनाउँदै दावा लामाले सेवनका लागि नभई विक्री वितरणकै लागि लागु औषध बोकेको र विक्री वितरण गर्ने गरेको बयान समेत दिएको कारण उनलाई विक्री वितरणमै दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो ।

पुनरावेदन अदालत पाटनले फैसलामै बाँकी कैदको कुरा उल्लेख गरी पुनरावेदनको म्यादसमेत दिन भनेको थियो ।

फैसलाको तपसिल खण्डमा लेखिएको छ, ‘प्रतिवादी दावा लामा के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ५ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने ठहरी फैसला भएकोले निज प्रतिवादी मिति ०६१।०४।८ देखि ०६२।२।१० सम्म थुनामा रहेको देखिँदा उक्त थुनामा रहेको अवधि १० महिना २ दिन कैदबाट कट्टी गरी बाँकी अवधि ४ वर्ष १ महिना २८ दिन र रु. ५,०००।– जरिवानाको लगत कसी असुल उपर गर्नु भनी सुरु जिल्ला अदालतमा लेखी पठाई दिनु । यस इन्साफमा चित्त नबुझे ७० दिन भित्र श्री सर्वोच्च अदालतमा पुनरावेदन गर्न जानु भनी प्रतिवादीलाई पुनरावेदनको म्याद दिनु ।

यसरी प्रतिवादी दावा लामामाथि लागु औषध कारोबारको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सेवनमा मात्रै ठहरी ६ महिना कैद सजाय गरेकामा पुनरावेदन अदालत पाटनले भने कारोबारी रहेको भन्दै ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

यस सम्बन्धमा के कसो भएको छ भनी बुझ्नका लागि लामाले प्रयोग गर्ने मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइलको स्विच अफ रहेको छ । यस विषयमा एन्फा र राष्ट्रिय खेलकुद परिषद्मा समेत इमेलमार्फत पटक पटक उजुरी परेको बताइएको छ र राखेप र एन्फा मौन रहँदै आएको छ भनि रातोपाटिले लेखेको छ ।

कमेन्ट गर्नुहोस्