
काठमाडौं । आर्थिक क्रियाकलापहरु क्रमश: चलायमान हुँदै गएको अर्थमन्त्री डा. प्रकाशनशरण महतले बताएका छन् । देशको वर्तमान आर्थिक अवस्थाकाबारेमा जानकारी गराउन आज अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने, ‘मौद्रिक नीतिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरजग्गा र सेयर कारोवार बढ्न शुरु भएको छ । हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ ।’
उनले २०८० चैत्रसम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि लम्ब्याइनु र ब्याजदर घट्नुले विविध कारण ऋण तिर्न नसकेका ऋणीलाई राहत मिल्ने पनि बताए ।
मन्त्री डा. महतले राजस्व परिचालनमा पनि क्रमश: सुधार देखिएको दाबी गरे । बजेटमार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कर आधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको उनको भनाइ छ ।
अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच उच्चस्तरीय छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको बताए । ‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । सार्वजनिक संस्थान सुधारका लागि निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको छ,’ उनले भने । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको पनि उनले जानकारी दिए।
उनले थप अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेका जानकारी पनि दिए। चालु आर्थिक वर्षमा पर्यटक आगमनमा समेत उत्साहजनक वृद्धि देखिएको उनले बताए। चालु आर्थिक वर्षमा करीब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा रहेको उनको भनाइ छ ।
बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले क्रमश: कार्यान्वयनका क्रममा रहेका उनले बताए ।