
काठमाडौं । फेरि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद भएको छ। सुरक्षा प्रहरीको टोलीले भन्सारबाट बाहिरिसकेपछि साढे ६ किलो सुन बरामद गरेको हो ।
डीआईजी अर्जुन चन्द ( त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय प्रमुख )का अनुसार सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेका छन् । सीसीक्यामरा फुटेजका आधारमा प्रहरीले उनीसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ ।
यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् भने प्रहरीका अनुसार, इजिप्टका नागरिकसँग सम्बन्ध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको हो ।
सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत काठमाडौं अवतरण गरेका थिए । यही विमानमार्फत रसुवाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।
सोही विमानमा शनिबार राति आएका व्यक्तिलाई शंका लागेपछि निगरानी गर्ने क्रममा इजिप्टका नागरिकलाई सुनसहित पक्राउ गरिएको डीआईजी चन्दले बताए ।







