ग्राउण्ड ह्यान्डलिङ खोसिएको नेवानीको व्यवस्थापन र ट्रेड युनियनले दियो निरन्तरताका लागि दबाब

Share:

काठमाडौं। त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवा खोसिएसँगै निरन्तरताको दबाबका लागि नेपाल वायुसेवा निगम व्यवस्थापन र कर्मचारी ट्रेड युनियन एकै ठाउँमा उभिएका छन्। नागरिक उड्यन प्राधिकरणले खुला प्रतिस्पर्धाबाट कम्पनी छान्ने प्रक्रिया अघि बढाएपछि व्यवस्थापन र कर्मचारी युनियन एकतावद्ध भएका हुन्।

सुरक्षा संवेदनशील क्षेत्र विमानस्थलमा सरकारको पूर्ण स्वामित्व रहेको संस्थाकै तर्फबाट ग्राउण्ड ह्यान्डलिङ सेवा सञ्चालन हुनुपर्ने निगमद्वारा जारी वक्तव्यमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियनसहित निगम व्यवस्थापनको मिति २०८०र८र१९ को बैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ गर्नुपर्ने कुरामा एकतावद्ध रही दृढतापूर्वक उभिन र यसको निरन्तरताको लागि लगानीको सुनिश्चितता, त्रिअवि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुरक्षा समेतको लागि नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमले नै निर्वाध रुपमा ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्नुपर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको छ।ु
विज्ञप्तिमा सेवा सुधारका लागि निगमले उपकरणका लागि गरेको लगानी सुरक्षणका लागि समेत सेवा निरन्तर हुनुपर्ने माग गरिएको छ।

यसअघि निगमले सरकारी ध्वजाबाहक भएका नाताले बिना प्रतिस्पर्धा ग्राउण्ड ह्यान्डलिङ सेवा पाइरहेको थियो। उसको ठूलो खर्च ग्राउण्ड ह्यान्डलिङ सेवाबाट हुने कमाइले टर्दै आएको थियो।

तर हवाइ सुरक्षामा ध्यान नदिएको, हवाइ सुरक्षा प्रणाली तथा अन्य व्यवस्थापन पक्षमा सुधार र वायुयान उडाएर संस्थाको दिगो विकासमा ध्यान नदिइ अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम गरेको लगायत कारण देखाएर प्राधिकरणले शुक्रबार निगमसँग ग्राउण्ड ह्यान्डलिङ सेवा खोसेको थियो।

युरोपियन युनियनले निगमको कमजोरी देखाएर नेपाललाई सुरक्षा सूचीबाट हटाउन नमानेपछि प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त किन नगर्ने भनी स्पष्टीकरण समेत सोधेको छ भनि बिजमांडू डट कमले लेखेको छ ।

कमेन्ट गर्नुहोस्