
काठमाडौं । आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखेर पसल सञ्चालन गर्न लागिएकाे हाे ।
काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत पसल राखिने भएको छ ।
यसैगरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा सहुलियतपूर्ण पसल रहने खाद्य व्यापार कम्पनीले जनाएका छ ।
सहुलियत मूल्यकाे पसल सञ्चालनका लागि सरकारले हालै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको थियो भने साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको थियाे ।
कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो/प्रतिलिटर रु ७ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो रु १० छुट पाउनेछन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो रू दुई छुट दिने जनाइएको छ ।
दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने गरी सस्तो पसल सञ्चालनमा ल्याउन लागिएको छ ।
सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।
चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।







