आज पनि डाक्टरहरू सडकमा

Share:

काठमाडौं । कार्यस्थलमा सुरक्षाको ग्यारेन्टीको माग गर्दै डाक्टरहरू आज पनि सडकमा उत्रिएका छन् । सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै आज पनि माइतीघरको सडकमा उत्रिएर नाराबाजी गरेका छन् ।

मंगलबार गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सकका प्रतिनिधिसमेतको छलफलले २ बुँदे निर्णय गरेको थियो । जसअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने उल्लेख छ ।

त्यस्तै पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने पनि गृहले जनाएको छ । सोही अनुसार स्वास्थ्य मन्त्रालयले हिजो सबै स्वास्थ्य संस्थामा सूचना टाँसेर स्वास्थ्य सेवा सुचारु गर्न निर्देशन दिएको थियो ।

तर, डाक्टरहरूले सहकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् । डाक्टरमाथि कुटपिट गर्ने लम्जुङका एक वडाध्यक्ष र पोखरामा हमलामा उत्रिने प्रहरी इन्सपेक्टरलाई पक्राउ गरेर कारबाही गरिनुपर्ने मुख्य माग आन्दोलित चिकित्सकहरूको छ ।

मंगलबारदेखि उनीहरू निरन्तर सडक आन्दाेलनमा छन् ।

कमेन्ट गर्नुहोस्