
काठमाडौँ । नवनियुक्त भट्ट (पुजारी) वी. एस. विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गराइएको छ। विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका थिए।
नवनियुक्त भट्ट अडिगाले भण्डारेश्वर–ताम्रेश्वर–खञ्जनेश्वर–कृष्णेश्वर–शङ्कराचार्य मठ–झम्केश्वर– पशुपतिस्थित चाँगुनारायण– आगमघर–रुद्रगारेश्वर– वासुकीनाथको मन्दिर हुँदै पशुपति मूलमन्दिरस्थित बूढानीलकण्ठ–आर्यघाट–भद्रेश्वर–चतुःषष्टि लिङ्गबाट मूलभट्ट निवास–कुमारीस्थान–कीर्तिमुख भैरव–उन्मत्तभैरव आदि देवीदेवताको दर्शन एवं पूजा आराधना गर्दै पशुपतिनाथ मूल मन्दिर प्रवेश गरेका हुन्। उनलाई मूलभट्टले पाशुपत दीक्षासहित मन्दिर प्रवेश गराएका थिए।
नवनियुक्त भट्टले आर्यघाट अघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गरेका भएतापनि हाल चलिरहेको अधिकमास (मलमास) मा देश को प्रमुख मन्दिरमा गरिएको नियुक्ति सहि नभएको र संकट कारक हुने ज्योतिष तथा संस्कृतिविद हरुको भनाइ रहेको छ ।







