
काठमाडौं । काठमाडौं महानगरले चालु आर्थिक वर्षको ऐनले व्यवस्था गरेको महानगर भित्रको सवारी साधन पार्किङ शुल्कमा एकरुपता ल्याउने निर्णयको कार्यान्वयन गर्दै विमानस्थल मा संचालित पार्किङ शुल्क महानगरले तोके बमोजिम गर्न निर्देशन दिएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरिक्षक दिनेश अर्यालले अन्यत्र भन्दा बढी शुल्क लिइरहेको सूचना प्राप्त भएकोले महानगरले तोकेअनुसारको मात्र शुल्क लिन पाउने भएकोले पार्किङ ठेक्का लिएको कम्पनीलाई भेटेर महानगरको ऐन अनुसार गर्न बताएको जानकारी गराउनु भएको छ ।
महानगरको ऐन अनुसार दुई पाङ्ग्रे सवारीको आधा घण्टाको पार्किङ शुल्क रु १५, एक घण्टाको रु २५ र एक घण्टा भन्दा बढी पार्किङ गर्दा हरेक १५ मिनेटको थप रु ५ शुल्क तोकीएको छ भने चार पाङ्ग्रे सवारीको आधा घण्टाको रु ४०, एक घण्टाको रु ७५ र एक घण्टा भन्दा बढीमा हरेक १५ मिनेटको थप रु १५ लाग्ने व्यवस्था रहेको छ ।







