काठमाडौं, १ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीको धार्मिक भात्री संस्था ‘नेपाल सनातन धर्म संस्कृति संगठन’ले आज धार्मिक पदयात्रा आयोजना गरेको छ । संगठनले बिगतको बर्ष देखि श्रावण सक्रान्तिका दिन पदयात्रा गर्ने गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टीका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समुह, संस्थाहरु समेतको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा हुने जानकारी दिनुभएको छ ।
श्रेष्ठका अनुसार अपरान्ह १२ः३० बजे मैतीदेवी मन्दिरमा भेला भइ विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिने छ र यो बिशुद्ध शान्ति यात्रा रहने छ । यो कार्यक्रम धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियान अन्तर्गत हुनलागेको उनको भनाइ थियो ।
आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले भने आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गर्न लागिएको जानकारी दिए ।