
काठमाडौं । वर्षाका कारण आइरहेको पहिरोले देशभरका सडकहरुमा असर परेको छ । सडक विभागमा रहेको राजमार्गको अवस्था रिपोटिङ प्रणाली (एससिआरसी)मा बुधबार बिहान अद्यावधिक गरिएको विवरणकाअनुसार मेची राजमार्ग, तमोर करीडोर र कोशी राजमार्ग अन्तर्गतका सडकखण्डहरु पूर्ण रुपमा अवरुद्ध अवस्थामा रहेका छन् । मेची रजमार्ग अन्तर्गत पाँचथरको हेवाखोला क्षेत्रमा सडक अवरुद्ध रहेको छ भने तमोर करीडोर राजमार्ग अन्तर्गत पाँचथरको हेलाखोला क्षेत्रको माझीटारमा सडक अवरुद्ध रहेको छ । त्यस्तै कोशी राजमार्ग अन्तर्गत रहेको संखुवासभाको हाइटार क्षेत्रको सडकखण्ड अवरुद्ध रहेको छ । सो क्षेत्रको सडक सुचारु गर्ने प्रयास भइरहेको विभागको कथन छ ।
एकतर्फी रुपमा सञ्चालनमा रहेका सडकहरुमा तानसेन–रिडी–कोरला राजामर्गअन्तर्गत म्याग्दीको गुइथेस्थित नौनीबगर सडकखण्ड, डुम्रे–बेशीशहर–चामे राजमार्ग अन्तर्गत लमजुङस्थित खरखरे भिर सडकखण्ड, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको मुडेस्थित सडकखण्ड, कोशी राजमार्गकै संखुवासभास्थित दोभान सडकखण्ड, तानसेन–रिडी–कोरला राजमार्गअन्तर्गत म्याग्दीको काभ्रेस्थित सडकखण्ड तथा म्याग्दीस्थित बैसरी सडकखण्ड, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको हिउँदे खोला सडकखण्ड, कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दहिखोला सडकखण्ड, तानसेन–रिडी–कोरला अन्तर्गत पाल्पाको ढुंगाखानी सडकखण्ड, सिद्धाथ राजमार्ग अन्तर्गत पाल्पाको दोभानस्थित सडकखण्ड, सोही राजमार्गको पाल्पास्थित गौडेपुल क्षेत्रको सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा रहेको विभागले जनाएको छ ।
विभिन्न क्षेत्रमा अवरुद्ध रहेका सडकहरु वर्षा तथा पहिरोका कारण खुलाउनमा पनि समस्या रहेको विभागले जनाएको छ ।







