
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी असार २४ गतेबाट प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारण जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता जारी गरेको हो। यसमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन्।
त्यसैगरी, कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्।
स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । उनीहरुले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद साउन २२ गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने अन्तिम म्याद साउन ७ गतेसम्म तोकिएको छ।
स्थानीयले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन् । भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।







