
नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको अलफ्ट होटलमा आयोजित कार्यक्रममा बाँडफाँट गरिएको । बाँडफाँड गोलाप्रथाबाट गरिएको हो।
उप प्रधानमन्त्री एवं गृह मन्त्री नारायण काजी श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ। कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको आइपीओमा मागभन्दा ३.७ गुणा बढीको आवेदन परेको छ ।
कम्पनीका अनुसार आईपिओमा १२ लाख ९९ हजार ७ सय २७ जनाको आवेदन परेको छ। त्यस मध्य ६ हजार ९ सय २० जनाको आवेदन रद्द भएको छ। जस अनुसार १२ लाख २७ हजार ५ सय ६९ जनाको योग्य आवेदन परेको हो । ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाएका छन्। यी मध्ये भाग्यमानी १ जनाले ११ कित्ता शेयर पाएका छन्।
कम्पनीले जारीपुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आईपीओ निष्कासन गरेको मध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने वैदेशिक रोजागरीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन गरेको थियो ।
कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँट गरिएको हो ।