पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध, खुलाउन कठिन

Share:

किमाथाङ्का : सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी-पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो।

वर्षासँगै आएको बाढी-पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी-किमाथाङ्का सडक ठप्प भएको हो। गएराति वर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर-दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए।

उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ। मकालु गाउँपालिका-५ को मुढे र मकालु-३ मा पहिरो खसेको छ।

मकालु गाउँपालिका-५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख कोइरालाले बताए। अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए।

पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन। सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बिचबाटैमा अपलत्र परेका छन्।

सत्र घरपरिवार विस्थापित

सङ्खुवासभामा बाढी-पहिरोका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिवार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन्।

पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी र मकालु गाउँपालिकामा १७ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

बाढी-पहिरोका कारण ११ घर पूर्ण क्षति भएको छ। भने छ घरमा आंशिक क्षति भएको प्रनाउ गोदारले बताए।

बाढी-पहिरोबाट विस्थापित छरछिमेकी र आफन्तको शरणमा बसेका छन्। बाढी-पहिरोका कारण चैनपुर नगरपालिकामा आठ, पाँचखपन नगरपालिकामा चार, सभापोखरी गाउँपालिकामा चार र मकालु गाउँपालिकामा एक घरपरिवार विस्थापित भएको प्रनाउ गोदारले बताए।

गत शनिवार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन्। बाढी-पहिरोबाट बेपत्ता भएकाको खोजीकार्यमा वर्षाका कारण समस्या भएको छ।

अहिले पनि त्यस क्षेत्रमा वर्षा भइरहेको छ। बाढी-पहिरोबाट २० जनामध्ये १६ जना सुपर हेवाखोला हाइड्रोपावरका, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभाखोपरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन्।

बाढी-पहिरोका कारण जिल्लाका आठवटा हाइड्रोपावरमा क्षति पुगेको छ। बाढीले दुईवटा पक्की पुल बगाएको छ भने एउटा पक्की पुलमा आंशिक क्षति पुगेको छ।

चैनपुर नगरपालिका-४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढी भौतिक संरचना बगाउँदा करोडौं रुपैयाँको क्षति भएको छ। रासस

कमेन्ट गर्नुहोस्