काठमाण्डाै – नेपाली समयअनुसार बिहान सवा ११ बजे हङकङकाे मङककमा सुरु हुनुपर्ने एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतकाे ‘ए’ टाेलीबीचकाे खेल वर्षाका कारण टस पनि हुन नपाई रद्द भएकाे छ भने नेपाल र भारतले समान १/१ अङ्क बाँडेका छन् ।
पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको नेपाल १ अङ्क सहित समुहको तेश्रो स्थान मा छ । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘ए’ मा हङकङ, भारत र पाकिस्तानको ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको ‘ए’ टोली रहेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।