
नेपाल एसिया प्रशान्त क्षेत्रका देशहरूको समूह बाट एक सय पैतालिस मतका साथ संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल निर्वाचित भएको छ । अब नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि परिषदमा सदस्यको हैसियतमा कार्य गर्ने छ । नेपालले सदस्यको रूपमा जिम्मेवारी लिएपछि विश्व सहश्राब्दी लक्ष्य २०३० र अति कम विकसित राष्ट्रहरूका लागि दोहा कार्ययोजना कार्यान्वयनमा समन्वयकारी र महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
गोप्य मतदानमार्फत भएको उक्त मतदानमा एसिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन् । बिहीबारको मतदानमा कुल १८ देश सदस्यमा निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्याण्डलगायत छन् । तीनवर्षे कार्यकालका लागि आगामी २०२४ को जनवरीबाट यी नयाँ सदस्य राष्ट्रले काम गर्नेछन् ।
यस अघि सन् २०१८ मा मानवअधिकार परिषदमा नेपाल निर्वाचित भएको थियो ।







