
विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू-भागमा अधिकतम तापक्रम चालीस डिग्री सेल्सियस (४०°से) वा सो भन्दा बढी मापन भएको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग ले जानकारी दिएको छ ।
आगामी केही दिनसम्मको देशभरिको तापक्रम क्रमिक रुपमा बढ्ने भएकोले देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू (Heat wave) को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गर्दै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन समेत अनुरोध गरेको छ।
महाशाखाका अनुसार तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तै ː थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सो बाट बच्न घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत सुझाएको छ ।
हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने जानकारी समेत महाशाखाले दिएको छ ।







