
काठमाडौँ, जेठ २४ गते । मङ्गलबार बस्ने गरिएको नियमित बैठक बस्न नसकेका कारण आज बसेको मन्त्रीपरिषद बैठकले विभिन्न निर्णयहरू गरेका छन् । सरकारकी प्रवक्ता समेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकारहरुलाई जानकारी दिदै निम्न निर्णयहरु भएको जानकारी दिनुभएको छ।
निर्णयहरू:
१) काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने ।
२) कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय ।
३) आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गरि सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
४) माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वेका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने ।
५) जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रोपोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट-२०२३’ विषयक कार्यक्रममा सहभागि हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाहको भ्रमण स्वीकृत गर्ने ।
६) विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्ने।